काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। घरेलु टोली जिम्बावेले हरारे स्पोर्टस् क्लबको मैदानमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
नेपाल घरेलु टोलीले हराएर प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। जिम्बावे पनि घरेलु मैदानमा नेपाललाई हराएर सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ।
जिम्बावे विरुद्धको खेल नेपालका लागि महत्त्वपूर्ण छ, किनकि नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रसँग एकदवसीय खेल खेल्दैछ।
यद्यपि नेपालले जिम्बावेसँग एकपटक ५० ओभरको खेल खेलिसकेको छ। सन् २०१८ मा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेको सामना गरेको थियो। यद्यपि त्यसबेला नेपालले ओडीआई मान्यता नपाएकाले उक्त खेल ‘लिस्ट ए’ मान्यताको भएको थियो।
४ मार्च २०१८ मा भएको उक्त खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको थियो।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन कुमार झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।