फाइल तस्बिर
काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अन्तिम वार्मअप खेलमा नेपालले ओमानविरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ।
नेपालले ओमानबाट पाएको २६८ रनको लक्ष्य ४४.५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १०१ रन बनाए। शतकीय पारी खेल्ने क्रममा उनले ९४ बलमा १३ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर आसिफ शेख २४ बलमा २३ रन बनाएर आउट भए। कुशलसँग उत्कृष्ट साझेदारी गरेका भीम सार्कीले ५६ रनसहित अर्धशतकीय पारी खेले। ७४ बल खेलेका उनले ९ चौका प्रहार गरे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २६, रोहित पौडेलले ३१ तथा कुशल मल्लले १७ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंक जोडेनन्।
ओमानका आकिब इलियासले ४ विकेट लिए। यस्तै, फय्याज बटले २ तथा कलिमुल्लाहले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो। ओमानका जिशान मकसूदले १०८ रनसहित शतकीय पारी खेले। अयान खानले ५६ रन बनाए भने शायब खानले ३८ रन बनाए।
ओमानविरुद्ध नेपालका सोमपाल कामी एक्लैले ५ विकेट लिए। सन्दीप लामिछानेले ३ विकेट लिँदा करण केसी र प्रतीस जिसीले समान १–१ विकेट लिए।
यसअघिको वार्मअप खेलमा नेपाल यूएईसँग ३ विकेट, नेदरल्याण्डससँग ५ विकेट र स्कटल्याण्डसँग ७ विकेटले पारजित भएको थियो।
अब नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्ने छ। विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दै छ। नेपाल रहेको समूह ‘ए’मा वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।