काठमाडौं- आगामी सेप्टेम्बरमा हुने एशिया कप ‘हाइब्रिड’ मोडेलमा स्वीकार गरिएको छ। एशिया क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलंकामा खेल खेलाउनेगरी उक्त मोडेल स्वीकार गरेको हो।
उक्त मोडेलअनुसार आयोजक पाकिस्तानलेसमेत भारतसँगको प्रतिष्पर्धा श्रीलंकामा पुगेर खेल्नेछ। भारत-पाकिस्तानकै समूहमा रहेको नेपालले समूह चरणको एउटा खेल पाकिस्तान र अर्को श्रीलंकामा खेल्नुपर्नेछ।
इएसपीएन क्रिकेटइन्फोका अनुसार यसको औपचारिक घोषणा एक हप्तापछि हुनेछ। खेल सेप्टेम्बर १ देखि १७ सम्म गरिने तय गरिएको छ।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान गएर खेल्न अस्वीकार गरिरहेको थियो। आयोजक पाकिस्तानले आयोजनाको अधिकार जोगाउन यस्तो मोडेलमा सहमति गरेको हो।
पाकिस्तानले सुरुवातमा युएई वा बंगलादेशमा भारतसँगका खेल खेलाउन सकिने प्रस्ताव राखेको थियो तर मौसमका कारण सम्भव नभएको बताइएको छ।
६ देशबीच हुने प्रतियोगितामा भारत, पाकिस्तान र नेपाल समूह ‘ए’मा रहेका छन्। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा रहेका छन्। प्रतियोगिताभरी जम्मा १३ खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।