काठमाडौं– नेपालले पहिलो पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३६ रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा मात्र खेल्दै अलआउट भयो। नेपालको सुरुवात राम्रो भए पनि मध्यक्रममा सम्हालिन नसकेपछि सामान्य लक्ष्य दिएको हो।
नेपालका लागि कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए। नेपालका ओपनर आसिफ शेख ३६ बलमा ५ चौकासहित २८ रनमा आउट भए। अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन बनाउँदै क्याच आउट भएका थिए।
नेपालले ८ ओभरमा ३६ रनको साझेदारी गरेको थियो। कुशललाई तीव्र गतिका बलर शफ्यान शरिफको बलमा स्लिपमा जर्ज मुन्शेबाट क्याच आउट गराएपछि नेपालको पतन सुरु भयो।
तेस्रो नम्बरमा आएका भीम सार्कीले १० बलमा १ चौकासहित ८ रन मात्र बनाए। उनी क्याच आउट हुन पुगे। भीम एड्रियन निलको बलमा मुन्शेबाट क्याच आउट भएका थिए। सार्कीपछि ज्याक जार्विसले आसिफलाई बोल्ड आउट गराए। लगत्तै अर्को बलमा कप्तान रोहित पौडेल गोल्डेन डक आउट भएका थिए।
ज्ञानेन्द्र मल्ल १७ बलमा ७ रन बनाउँदै क्याच आउट भए। कुशल मल्लले केही ठूला सटहरु खेलेका थिए। उनी २१ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने क्रममा ज्याक जार्विसको बलमा क्याच आउट भए। सोमपाल कामी ३, गुलशन झा र आरिफ शेख समान ५ रनमा आउट भए। करण केसी ४ रनमा नटआउट रहे।
स्कटल्यान्डका ब्रेन्डन म्याकुमलनले ५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। ज्याक जार्विसले ३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए। शफ्यान शरिफले दुई, निल र हम्जा ताहिरले समान एक/एक विकेट लिए। नेपालले दिएको लक्ष्यमा अहिले स्कटल्याण्डले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।