काठमाडौं– सरकारले वर्षात्को समयमा सडक खन्न रोक लगाएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
सडक विभागअन्तर्गतको कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले सडक खन्न रोक लगाइएको जनाएको छ।
वर्षायाममा सडक खन्दा खनेको ठाउँभन्दा पनि थप सडक समेत बिग्रिँदै जाने भएकाले सडक खन्न नै रोक लगाइएको कार्यालयले जनाएको छ।
‘...यही यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सड़क खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ,’ कार्यालयद्वारा सूचनामा भनिएको छ।
अहिले पनि कतिपय ठाउँमा बिजुलीका तर भूमिगत गर्न र मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतका लागि भन्दै काठमाडौं उपत्यकामा सडक खन्ने क्रम चलिरहेको छ। यसरी खनिएका सडकहरु लामो समयसम्म नपुरिँदा तथा कालोपत्रे नहुँदा सडक प्रयोगकर्ताले वर्षा हुँदा हिलो र धाम लाग्दा धूलोका कारण सास्ती खेप्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।