काठमाडौं– सामाजिक सञ्जालको माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा जुम्लाका एक युवक पक्राउ परेका छन्।
जुम्लाको तिला गाउँपालिका-९ रासा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय युवालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल टिकटकमार्फत् पीडित महिलासँग साथी बनी कुराकानी गर्ने क्रममा सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा साथी बनाई संवाद गर्ने क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी स्क्रीन रेकर्डसमेत गरेर पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत् अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्विर पोष्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुरबाट उनलाई पक्राउ गरेको हो।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।