काठमाडौं– नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आज (सोमबार) दक्षिण अफ्रिका जाने भएका छन्। अदालतमा विचाराधीन रहेको आफूविरुद्धको बलात्कार मुद्दाको पेसीका कारण सन्दीप सुरुमा राष्ट्रिय क्रिकेट टिमसँगै दक्षिय अफ्रिका गएका थिएनन्।
काठमाडौं जिल्ला अदालतले सन्दीपको मुद्दाको साधारण पेसी असार २९ गतेलाई तोकेको छ। मुद्दाको सुनुवाइ हुने पेसी त्यसपछि मात्रै तोकिने छ।
अन्तिम सुनुवाइको क्रममा रहेको मुद्दाको पेसी सरेसँगै सन्दीप सोमबार दक्षिण अफ्रिका जाने उनका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए। ‘उक्त दिन (असार २९ गते) साधारण तारेख मात्र हो। उहाँ (सन्दीप) विश्वकप छनोटबाट फर्केपछि मात्रै पेसी तोकिन्छ होला,’ सापकोटाले भने।
लामिछानेविरुद्ध जिल्ला अदालतमा रहेको नाबालिका बलात्कारको मुद्दा पछिल्लो समय पेसी चढ्ने अनि सुनुवाइ सर्ने हुँदै आएको छ। यसअघिको पेसी पनि निवेदकले दिएको राहत सम्बन्धी निवेदनमा सुनुवाइ हुनपर्ने भन्दै स्थगित भएपछि उनी नेपाली क्रिकेट टिमका अन्य सदस्यसँगै अभ्यासका लागि नगइ नेपालमै बसेका थिए।
नेपाली क्रिकेट टिमका अन्य सदस्यहरुले अभ्यास सुरु गरिसक्दा उनी मात्र नेपालमा रहेपछि उनलाई पनि लैजान नेपाल क्रिकेट संघले पहल थालेको थियो। क्यानले उनका कानुन व्यवसायीसँग सल्लाह गर्दै अदालतमा पनि पेसी नतोकी साधारण तारेखका लागि अनुरोध गरेको थियो।
विश्वकप छनोट खेलका लागि महत्त्वपूर्ण खेलाडी भएकाले अन्तर्राष्ट्रिय रुपमा यस्तो अभ्यास भएको भन्दै क्यान तथा सन्दीप पक्षले सुविधा माग गरेपछि अदाललते यस्तो सुविधा उपलब्ध गराएको हो।
नेपालले दक्षिण अफ्रिमा अभ्यास गर्दै जिम्बाबेमा हुने विश्वकप छनोट खेल्नका लागि जाने छ। जिम्बाबेमा हुने खेलमा छनोट हुन सकेमा नेपालले एकदिवसीय विश्वकप खेल्ने छ।
नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ। त्यसपछि नेपाली टोली जिम्बाबे जानेछ। जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ।
छनोट प्रतियोगिता भने १८ जुन देखि ९ जुलाई सम्म हुनेछ। नेपाल, वेस्ट इन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह 'ए' मा छन्। समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन्। नेपालले १८ जुनमा जिम्बाबेसँग खेल्दै आफ्नो खेलको सुरुवात गर्नेछ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह ‘बी’बाट आउने तीन टोलीले समूह 'ए' का तीन टोलीसँग खेल्नेछन्। त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।