काठमाडौं– जहाजको ढोकामा पुगेका यात्रुलाई फर्काएपछि नेपाल वायु सेवा निगममा एक कर्मचारी कारबाहीमा परेका छन्।
बुधबार काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पाससमेत लिएर विमानस्थलभित्र जहाजको ढोकामा पुगेका बृद्ध ठाकुरसिंह भण्डारीलाई विमानस्थलबाट सिस्टममा नाम नभएको भन्दै फर्काइएको थियो।
त्यसपछि भने सम्बन्धित कर्मचारीलाई कारबाही स्वरुप ताप्लेजुङ सरुवा गरिएको नागरिक तथा पर्यटन उड्यनमन्त्री सुदन किराँतीले जानकारी दिए।
उक्त घटनापछि यस बारेमा गुनासो आएकोले निगमका सम्बन्धित कर्मचारी युनिट इन्चार्ज गगन बहादुर चन्दलाई सोधपुछ गर्दा चित्तबुझ्दो जवाफ नआएको हुँदा कारबाही गर्दै काठमाडौंबाट ताप्लेजुङ विमानस्थलमा सरुवा गरिएको मन्त्री किराँतीले सामाजिक सञ्जाल मार्फत् जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।