काठमाडौं– ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज (महिला क्रिकेट)मा नेपालले मलेसियाविरूद्ध लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन जोडेको थियो। १११ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ८३ रन मात्रै जोड्न सक्यो।
मलेसयाका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडिन्। उनले ५४ बलमा ६ चौका हिर्काइन्।
नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। ज्योति पाण्डेले २३, सीता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाइन्।
मलेसियाकी निक नुरले २ विकेट लिइन्।
पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो। बिहीबारको खेलमा जित निकालेसँगै नेपालले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ।
सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।