तनहुँ– करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु भएपछि प्रहरीले सँगै माछा मार्न गएका ३ जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।
म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो।
गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथीहरुसित करेन्ट लगाएर माछा मार्ने क्रममा म्याग्दे–६ का २१ वर्षीय विमल थापाको ज्यान गएको थियो। उनको मृत्यु भएपछि उक्त कार्यमा संलग्न ३ जनाविरुद्व प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरेको हो। सोही दिन प्रहरीले तीनै युवकलाई पक्राउ गरेको थियो।
प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार पक्राउ गरिएका तीनै जनालाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराइ १० दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।