काठमाडौं- मलेसियाले नेपाली महिला क्रिकेट टोलीलाई पहिलो खेलमा पाँच विकेटले पराजित गरेको छ। नेपालले दिएको ५१ रनको झिनो लक्ष्य मलेसियाले पाँच विकेट गुमाएर भेटाउन सफल भयो।
मलेसियाको वाइएस युकेएम ओभलमा पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ५० रनमा समेटिएको थियो।
खराब ब्याटिङ प्रदर्शनसँगै नेपाल महिला टी-ट्वान्टीको खेलमा पहिलो पटक मलेसियासँग पराजित भएको हो। मलेसियाले पहिलो खेलमा जित हात पार्दै श्रृखलामा १–० को अग्रता लिएको छ।
नेपालले यसअघि मलेसियासँग टी-२० का तीन खेल खेल्दा सबैमा जित निकालेको थियो।
नेपाले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २२ बलमा २ चौकासहित १३ रनको योगदान गरिन्। आइना हामिजाह हशिम १५ बलमा २ चौकासहित १२ रनमा नट आउट रहदै जित हात पार्न मलेसिया सफल भयो।
नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन्। कप्तान रुबिना क्षेत्री बेलबासेले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन्। कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १६.५ ओभरमा ५० रनमा अल आउट भएको थियो। यो महिला टी-२० आईमा नेपालको संयुक्त रुपमा कम योगफल हो। यसअघि नेपालको महिला टी-२० आईमा सबैभन्दा कम योगफल २०१९ मा १३ औं सागमा बंगलादेशसँग बनाएको थियो। त्यतिबेला नेपाल ५० रनमै अल आउट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।