काठमाडौं– विश्वकप छनोटका नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार १६ सदस्यीय टोली घोषणा गरेको हो।
आगामी असारमा हुने विश्वकप छनोटका लागि टिम घोषणा भएको हो। टिममा सन्दीप लामिछाने पनि अटाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आईतबार रोहितको कप्तानीमा घोषणा गरेको टोलीमा अर्जुन साउद र किशोर महतोले टोलीमा पूनरागमन गरेका छन्।
नेपालले एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्सीय टोली घोषणा गरेको थियो। बन्द प्रशिक्षणबाट देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरा बाहिरिएका छन्।
नेपाल अन्तिम तयारीको लागि बुधबार दक्षिण अफ्रिका जानेछ। जिम्बावेमा आयोजना हुने छनोटका लागि नेपालले १६ सदस्सीय टोलीको घोषणा गरेको हो। विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ। सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिने छ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन्। १८ जुन अर्थात असार ३ मा जिम्बावेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ।
दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन / असार ७ मा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन/असार ९ मा खेल्नेछ। समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन्।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।