खाँदबारी– संखुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या भएको छ। सभापोखरी गाउँपालिका–१ घर भइ खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले २१ वर्षीया दर्नालको हत्या गरेका हुन्। युवती खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएका खुलेको छ।
गदाल बिहीबार राति मृतक दर्नालको डेरामा बसेका बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको र अनुसन्धान जारी रहेको डीएसपी गोदारले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।