काठमाडौं– चेन्नई सुपर किंग्स इन्डियन प्रमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो।
एमए चिदंबरम स्टेडियम चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। १७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा १० विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो।
चेन्नईका लागि रवीन्द्र जडेजाले ब्याटिङ र बलिङ, दुवैमा उत्कृष्ट प्रदर्शन गरे। सुरुवाती ब्याटिङमा २२ रन बनाएका जडेजाले गुजरातलाई रोक्नका लागि महत्वपूर्ण २ विकेट लिए। म्यान अफ द म्याच भएका चेन्नइका रुतुराज गाइकवाडले सर्वाधिक ६० रन बनाए।
चेन्नई १०औं पटक आईपीएलको फाइनल प्रवेश गरेको हो। चेन्नई ४ पटक आईपीएलको च्याम्पियन रहिसकेको छ।
हारका बाबजुद गुजरातलाई फाइनल प्रवेशको अर्को अवसर हुनेछ। गुजरातले फाइनल प्रवेशका लागि बुधबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच हुने ईलिमिनेटर खेलको विजेतासँग शुक्रबार खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।