काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ। प्रहरीले चारभन्दा धेरै अभियोगमा मुद्दा दायर गर्न सकिने र ३२ भन्दा धेरै व्यक्तिहरुलाई यो प्रकरणमा प्रतिवादी बनाउनुपर्ने सुझाव अनुसन्धान प्रतिवेदनमा दिएको छ।
प्रहरीले ५८औं दिनमा प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार पाँचवटा फाइलमा अनुसन्धान प्रतिवेदन प्राप्त भएको छ, जसमा तीनदेखि चार अभियोग लगाउन सकिने दाबी गरिएको छ।
नक्कली शरणार्थी बनाएर अमेरिकासहित तेस्रो देश पठाउने भन्दै विचौलियाले रकम उठाउन सुरु गरेदेखि भुटानी शराणार्थीको अध्ययनका नाममा कसरी सरकारी कागजात कीर्ते भएसम्म प्रहरीले अनुसन्धान र प्राप्त प्रमाणहरु सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
प्रहरीले अनुसन्धानका क्रममा जम्मा गरेका प्रमाणहरुसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई र अन्य केही व्यक्ति जो सरकारी पदमा पनि रहेकाहरुमाथि थप सजाय पनि माग दाबी गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
राज्यको उच्चतम ओहदामा बसेका उनीहरुले राज्यविरुद्ध नै अपराध गरेकाले मुल कैद भन्दा थप सजाय हुनुपर्ने दाबी अनुसन्धान प्रतिवेदनमा गरिएको छ। ‘प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएको छ। हामी सोमबार र मंगलबार त्यसमा अध्ययन गर्छौं,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख नेउपानले भने, ‘अहिलेसम्म प्रतिवेदन अध्ययन नभएकाले कति अभियोग र कति जनाविरुद्ध मुद्दा दायर हुनेबारे यकिन भएको छैन।’
उनले फाइल अध्ययन सँगसँगै अभियोगपत्र तयार गर्ने काम पनि सरकारी वकिलको कार्यालयले गरिरहेको बताए। रातभर काम गरेर भए पनि ६१औं दिनमा अदालतमा मुद्दा बुझाउने उनले बताए।
प्रहरीले बुझाएको प्रतिवेदनमा १६ जनालाई फरार देखाएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेकाबाहेक अन्य केही व्यक्तिहरु पनि फरार अभियुक्तको सूचीमा रहेको स्रोतले जनाएको छ। हालसम्म थुनामा रहेकाहरुलाई पनि अभियोगसँगै अदालतमा पेस गरिने उनले बताए।
प्रहरीले अनुसन्धान प्रतिवेदन ढिला ल्याएका कारण थप अध्ययनका लागि निर्देशन दिने अरु प्रमाण खोजी गर्न नसकिएको उनले बताए। उनले अनुसन्धान गरेर थप व्यक्तिमाथि कुनै प्रमाण फेला परेमा पूरक अभियोगपत्र पेस गर्न सकिने र त्यसका लागि आफूहरु सधैं तयार रहेको जानकारी दिए।
फरार अन्य व्यक्ति पनि उच्च राजनीतिक कनेक्सन देखिएका व्यक्ति रहेको स्रोतले जनाएको छ। हालसम्म अभियोगपत्रमा ३० देखि ३२ जनलाई प्रतिवादी बनाउनुपर्ने अनुसन्धान प्रतिवेदनमा दाबी गरिएको छ। सरकारी वकिलको अध्ययनपछि प्रतिवादी थप्ने वा घटाउने दुवै हुनसक्ने नेउपानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।