प्रतिकात्मक तस्बिर काठमाडौं– दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजना बन्ने निश्चित भएको छ। निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्नेगरी सम्झौता भएको छ।
सञ्चय कोषका अनुसार उक्त आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र तामाकोशी जलविद्युत कम्पनी लिमिटेडका तर्फबाट आइतबार त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरे।
आयोजनाको बाँकी रकम सर्बसाधारणलाई समेत सेयर निस्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ। आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।