काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा सरकारलाई खबरदारी गर्न नागरिक आन्दोलन शसक्त बनाइँदै लगिएको छ। बिहीबारदेखि सुरु भएको उक्त आन्दोलनमा शनिबारसम्म आउँदा नागरिक मात्र नभइ राजनीतिक दलका नेताहरु र कलाकारसमेत सहभागी भएका छन्।
शनिबार माइतीघर मण्डला र नक्सालमा आन्दोलनस्वरुप विरोध गरिएको छ। उक्त आन्दोलनमा पूर्वप्रधानमन्त्रीदेखि डा गोविन्द केसीसम्म सहभागी भएका छन्।
यस्तै सत्तारुढ दल निकट नेता कार्यकर्ताहरु पनि यो आन्दोलनमा सहभागी भएका छन्। उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई इंगित गर्दै ‘दाई–भाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै बा–आमालाई पनि कारबाही गर’ भन्दै नारा लगाएका थिए।
यस्तै दाई भाउजुबाट यो देशलाई कहिलेसम्म सास्ती? भन्दै शरणार्थी प्रकरणमा संलग्न जुनसुकै नेता भए पनि कारबाही गर्न माग गरेका छन्। यस्ता ठूला भ्रष्टाचार प्रकरणमा तीन ठूला दलका नेताहरु नै संलग्न भएकाले उनीहरुलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। यसका साथै नेपाल प्रहरीलाई यो प्रकरणमा संलग्नलाई पक्राउ गर्न साहस देखाएको भन्दै धन्यवाद अर्पणसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।