काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ। मुम्बईको वाङ्ख स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले शीर्ष स्थानमा रहेको गुजरातलाई हराएको हो।
२१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो। गुजरातका लागि राशिद खानले सर्वाधिक अविजित ७९ रन बनाएका थिए। यस्तै डेभिड मिलर ४१ रनमा आउट भए।
टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो। मुम्बईका सूर्य कुमार यादवले शतकीय पारी खेले। उनले ४९ बलमा १०३ रन बनाए। यादवको आईपीएल क्रिकेटमा पहिलो शतक हो । इशान किसन ३१, विष्णु विनोद ३० र कप्तान रोहित शर्मा २९ रन बनाएर आउट भए।
गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले एक विकेट लिए। जितसँगै मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा कायमै रहेको गुजरातको १२ खेलमा १६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।