काठमाडौं– संखुवासभामा सिम्रिक एयरको दुर्घटनामा परी घाइते भएका पाँच जनामध्ये तीन जनालाई मेडिसिटी अस्पतालमा उपचारका लागि पुर्याइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटसहित तीन जनालाई मेडिसिटी पुर्याइएको हो। शुक्रबार शंखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो। भोटखोला गाउँपालिका अध्यक्ष वाङ छेदर लामाका अनुसार हेलिकोप्टरमा ५ जना सवार रहेकोमा ५ जना नै घाइते भएका छन्।
घाइतेहरुको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्न प्रयोग भएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा थिएन। हेलिकोप्टर सम्पर्कविहीन भएपछि खोजी थालिएकोमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।