काठमाडौं– मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्त्व रहने उल्लेख गर्दै सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए।
उनले आर्थिक वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताउँदै तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उहाँले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने उल्लेख गरे।
त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे। उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पूरा हुने वातावरण बनाउन आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौं भन्ने उदाहरण मौलाकाली केबल कारसमेतले प्रस्तुत गरेको दाबी गरे। मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालले उल्लेख गरे।
मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ। यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो। नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।
करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन्। फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ।
माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन्। परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।