महेन्द्रनगर– महाकाली नदीको किनारै किनार कञ्चनपुरदेखि दार्चुलासम्म जोड्ने गरी निर्माण अगाडि बढाइएको महाकाली करिडोरको ट्र्याक खुलाउने कार्यले अब गति लिने भएको छ। सरकारले रुख कटानका लागि अनुमति दिएपछि ट्र्याक खोल्ने कामले गति पाउने भएको हो।
कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रमेश लेखक यसअघिका सरकारको उदासीनका कारण फास्ट ट्र्याक खोल्ने काम अघि बढ्न नसके पनि अब भने अघि बढ्ने दाबी गर्छन्।
करिडोरको शुन्य बिन्दु कञ्चनपुरको व्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा नेता लेखकले रुख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित भएको बताए। अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म नै करिडोरको ट्रयाक खुलाउन रुख कटान लगगायत अरु कामको अनुमति दिइसकेको लेखकले जानकारी दिए।
नेता लेखकले कञ्चनपुरबाट आउँदो दशैंमा डडेलधुराको जोगबुढा क्षेत्रमा यही ट्रयाकबाट पुग्ने बताए।
करिडोरको शुन्य बिन्दुदेखि १५ किलोमिटर ट्रयाक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा अलपत्र थियो।
करिडोरको ट्रयाक खुलेलगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने लेखकको भनाइ छ। बैतडी, दार्चुला लगायतका जिल्लामा पनि करिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै लेखकले आयोजनाका लागि बजेटको कमी नहुने दाबी गरे।
यसैगरी महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रुखमा टाँचा लगाउन सुरु गरेसँगै काम अगाडि बढेको बताए। आयोजना प्रमुख जोशीका अनुसार नेपाल–भारत र चीनसँग जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलिसकेको छ।
करिडोर अन्तर्गत ४२५ किलोमिटर ट्रयाकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्रयाक खोलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।