काठमाडौं- वर्षाका कारण रोकिएको नेपाल र युएईको बीचको फाइनल खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा पानी परेपछि खेल प्रभावित भएको थियो। नेपालले १६ ओभर बलिङ गर्दा ठूलो पानी परेको थियो। टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँच विकेट गुमाइसकेको छ।
वर्षाले खेल रोकिनु अगाडिसम्म नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिएका छन्।
नेपालको कसिलो बलिङसामु युएईका ब्याटरहरु निरीह देखिए। नेपालले पहिलो महत्त्वपूर्ण विकेट लिँदा युएईका कप्तान तथा ओपनर मुहम्मद वासिम ११ रन बनाएर आउट भए। वासिमलाई सोमपाल कामीले ललित राजवंशीबाट क्याचआउट गराए।
नेपालका करण केसीले व्यक्तिगत पहिलो विकेट लिँदै वृत्य अरविन्दलाई आसिफ शेखबाट क्याचआउट गराए। कप्तान वासिमपछि क्रिजमा आएका वृत्य अरविन्द मात्र ८ रन बनाएर पेभेलियन फर्किए।
करणले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिने क्रममा युएईका आर्यन लाक्रालाई आरिफ शेखबाट क्याचआउट गराए। युएईका ओपनर ब्याट्सम्यान लाक्रा २८ बलमा १३ रन बनाएर आठौं ओभरको पहिलो बलमा क्याचआउट भए।
नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित राजवंशीले रामीज शहजादलाई गुलसन झाबाट क्याचआउट गराएका थिए। ५ बल सामना गरेका शहजाद मात्र १ रन बनाएर पेभेलियन फर्किए। १३औं ओभरको पहिलो बलमा सन्दीपले युएईका रोहन मुस्तफालाई कुशल मल्लबाट क्याचआउट गराए। १५ बलको सामना गरेका रोहन मात्र २ रन बनाएर पेभेलियन फर्किए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।