काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेटको फाइनलअन्तर्गत नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिएको छ।
बिहान ९ बजेदेखि सुरु भएको खेल वर्षाका कारण बीचमै रोकिएको हो। १६ ओभर पूरा हुँदा वर्षा भएपछि खेल रोकिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ।
वर्षाले खेल रोकिनु अगाडिसम्म नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिएका छन्।
नेपालको कसिलो बलिङसामू यूएईका ब्याटरहरु निरिह देखिए। नेपालले पहिलो महत्त्वपूर्ण विकेट लिँदा यूएईका कप्तान तथा ओपनर मुहम्मद वासीम ११ रन बनाएर आउट भए। वासीमलाई सोमपाल कामीले ललित राजवंशीबाट क्याचआउट गराए।
नेपालका करण केसीले व्यक्तिगत पहिलो विकेट लिँदै वृत्य अरविन्दलाई आसिफ शेखबाट क्याचआउट गराए। कप्तान वसीमपछि क्रिजमा आएका वृत्य अरविन्द मात्र ८ रन बनाएर पेभेलियन फर्किए।
करणले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिने क्रममा यूएईका आर्यन लाक्रालाई आरिफ शेखबाट क्याचआउट गराए। यूएईका ओपनर ब्याट्सम्यान लाक्रा २८ बलमा १३ रन बनाएर आठौं ओभरको पहिलो बलमा क्याचआउट भए।
नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित राजवंशीले रामीज शहजादलाई गुलसन झाबाट क्याचआउट गराएका थिए। ५ बल सामना गरेका शहजाद मात्र १ रन बनाएर पेभेलियन फर्किए।
१३औं ओभरको पहिलो बलमा सन्दीपले यूएईका रोहन मुस्तफालाई कुशल मल्लबाट क्याचआउट गराए। १५ बलको सामना गरेका रोहन मात्र २ रन बनाएर पेभेलियन फर्किए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।