काठमाडौं– एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनलअन्तर्गत नेपालको कसिलो बलिङसामू यूएईका ब्याट्सम्यानहरु निरिह देखिएका छन्। १० ओभर नखेल्दै यूएईले महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ।
नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित राजवंशीले रामीज शहजादलाई गुलसन झाबाट क्याचआउट गराए। ५ बल सामना गरेका शहजाद मात्र १ रन बनाएर पेभेलियन फर्किए।
नेपालका लागि करण केसीले २ तथा ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिएका छन्।
सोमपाल कामीले तेस्रो ओभरको पहिलो बलमा महत्वपूर्ण विकेटका रुपमा यूएईका कप्तान मुहम्मद वसीमलाई ललित राजवंशीबाट क्याचआउट गराएका थिए।
यस्तै, करण केसीले टिमका लागि दोस्रो तथा व्यक्तिगत पहिलो विकेट लिने क्रममा चौथो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई आसिफ शेखबाट क्याचआउट गराएका थिए। कप्तान वसीमपछि क्रिजमा आएका वृत्य अरविन्द ८ रनमा आउट भए।
करणले टिमका तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिने क्रममा यूएईका आर्यन लाक्रालाई आरिफ शेखबाट क्याचआउट गराए। यूएईका ओपनर ब्याट्सम्यान लाक्रा २८ बलमा १३ रन बनाएर आठौं ओभरको पहिलो बलमा क्याचआउट भए।
त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले यूएईविरुद्ध पहिले बलिङ गरिरहेको छ। एसीसी प्रमियर कपको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्न पाइनेछ। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।