काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) सनराईजर्स हैदराबादले तेस्रो जित निकालेको छ। आफ्नो आठौं खेलमा शनिबार राति हैदराबादले दिल्ली क्यापिटल्सलाई ९ रनले हरायो।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा सुरुवाती ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। हैदराबादले दिएको १९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो।
दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय इनिङ खेले। मार्शले ३९ बलमा १ चौका तथा ६ छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै, साल्टले ३५ बलमा ९ चौकाका साथ ५९ रन बनाए।
दिल्लीले पहिलो ओभरमा नै कप्तान डेबिड वार्नरलाई शून्य रनमा गुमाएको थियो। दोस्रो विकेटका लागि मार्श र साल्टले ६६ बलमा ११२ रनको साझेदारी गरे। ११२ रनको योगफल बनाउँदा मात्र १ विकेट गुमाएको दिल्लीले त्यसपछि भने निरन्तर विकेट गुमाउँदा निर्धारित लक्ष्य पूरा गर्न सकेन।
हैदरावादका लागि मयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार, टी नटराजन, अमिल हुसेन र अकिल हुसेनले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाए। हेनरिक क्लेसनले ५३ रन बनाए।
अब्दुल समादले २१ बलमा २८ रन बनाए। दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए। इशान्त शर्मा र अक्षर पटेलले समान १–१ विकेट लिए।
८ खेल खेलेको हैदराबाद तेस्रो जित निकाल्दै ६ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ। ८ खेलमा २ वटा मात्रै जित निकालेको दिल्ली ४ अंकका साथ तालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।