काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनल प्रवेश गरेका छन्। नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो।
युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो। नेपाल र कुवेतबीचको खेल वर्षाका कारण खेल ४२–४२ ओभरमा छोट्याइएको थियो। पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियो।
जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले रोकिएको थियो। थप खेल नभएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो। नेपालले समूह ‘ए’ मा तीन खेल जित्दै ७ अंक जोडेको थियो। कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंकका साथ समूहको उपविजेता बनेको थियो।
नतिजाका लागि कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पर्थ्यो। ६ विकेट गुमाइसकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन आवश्यक पर्थ्यो। नेपालका लागि करण केसीले ४.३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ५ विकेट लिए। अर्को एक विकेट सोमपाल कामीले लिए।
कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रन बनाए। रोहित र कुशल मल्लले चौथो विकेटमा १ सय ९ रनको साझेदारी गरे। यसअघि कुशल भुर्तेल र आसिफ शेखले १० ओभरमा ७६ रन जोड्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए। कुशल र आसिफले छैटौं ओभरमा नेपालको ५० रन पुर्याएका थिए। कुशल ११ औं ओभरमा ३९ बलमा ४३ रन बनाई आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।