काठमाडौं- दोस्रो नेपाल-भारत नेत्रहीन टि-२० महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा नेपालले भारतलाई पराजित गरेको छ। तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पाहुना टोलीलाई पराजित गरेको हो।
नेपाली टोली सामु भारतीय टोलीले २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतीय टिमका लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन्। नेपालका लागि निशा चौधरीले १ विकेट लिएकी थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर ९ विकेटको जित हासिल गरेको छ। नेपालका लागि विनिता पुनले ६७ बलमा नट आउट १२६ रन प्रहार गरेकी थिइन्।
त्यसैगरी मनकेशरी चौधरीले ५६ बलमा ६५ रन प्रहार गरेकी थिइन् र मुना अर्याल भने ४ रनमा अविजित नटआउट रहिन्।
नेपाल पाँच खेलको श्रृंखलामा २-१ ले अघि रहेको छ। त्यसअघि पोखरामा भएको दुई खेलमा एक खेल नेपालले र १ खेल भारत विजय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।