काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रमियर कप क्रिकेटमा नेपालले आज कतारको सामना गर्दै छ। प्रतियोगिताको सेमिफाइनल पुगेको नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन मैदान उत्रिनेछ।
प्रतियोगितामा एउटा पनि जित निकाल्न नसकेको कतार नेपाललाई हराएर सुखद् ‘अन्त्य’ गर्न चाहन्छ। नेपाल रहेको समूह ‘ए’मा कतार मात्रै यस्तो टोली हो जसले ३ खेलमा एउटा पनि जित हासिल गर्न सकेको छैन।
समूह ‘ए’बाट समिफाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ। नेपाल ३ खेलमध्ये २ खेलमा जित र एउटा खेलमा अंक बाँड्दै ५ अंकका साथ १ खेल अगावै सेमिफाइनल पुगिसकेको थियो। यस्तै, ओमान ४ खेलमध्ये ३ खेलमा जित र १ मा बेहोरेर ६ अंकसहित सेमिफाइलन पुगिसकेको छ।
बिहीबारको खेलमा कतारलाई हराएर नेपाल समूह विजेता बन्ने छ। कतारलाई हराए नेपाल समूह विजेतको रुपमा ७ अंकका साथ सेमिफाइनलमा पुग्नेछ।
कुनै कारण (वर्षा)ले खेल रद्ध भएर अंक बाँड्नुपरेको अवस्थामा पनि नेपाल समूह विजेता बन्नेछ। नेपालले अंक बाँड्नु परेको अवस्थामा नेपाल र ओमान दुवैको समान ६–६ अंक हुनेछ। रनरेटका आधारमा नेपाल ओमानभन्दा अगाडि रहेर समूह विजेता बन्नेछ।
कतारसँगको खेलमा पराजित भए पनि नेपाल समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्ने छ।
१० टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन्। समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनल पुगिसकेका छन्।
समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, बहराइन र सिंगापुर छन्। समूह ‘बी’बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ। ४ खेलमा ३ जित र १ हार बेहोरेर ६ अंकका साथ यूएईले सेमिफाइनल यात्रा तय गरेको हो।
समूह ‘बी’बाट सेमिफाइलन पुग्ने अर्को टोलीको टुंगो आज (बिहीबार) हुने खेलले लाग्नेछ। समूह ‘बी’अन्तर्गत आज हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल र कतारको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। यस्तै, हङकङ र कुवेतबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। दुवै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।