काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसँग ठूलो मतान्तरणले पछि परेका नेपाली कांग्रेसका उम्मेदबार जीतनारायण श्रेष्ठले पराजय स्वीकार गरेका छन्। उनले जितोन्मुख उम्मेदवार लामिछानेलाई दलभन्दा माथि उठेर काम गर्न सुझाव दिएका छन्।
पत्रकारसँग कुरा गर्दै उनले अहिले जनताले परिर्वतन खोजेकोले त्यही अनुसारको मत दिएको रुपमा आफूले बुझेको बताए।
‘रवि लामिछानेलाई रचनात्मक काममा सहयोग हुने छ। दलभन्दा माथि उठेर काम गर्ने आश राखेको छु,’ श्रेष्ठले भने, ‘मैले हार स्वीकार गरेको छु। जनताको बीचमा काम गर्न बाँकी रहेको छ।’
श्रेष्ठले लामिछानेलाई नेपालको झण्डा उपहार दिँदै काम गर्न आग्रह गरे। आफूहरुसँग भएको कमि कमजोरीलाई स्वीकार गर्नुपर्ने उनले बताए।
‘निर्वाचनको परिणाम घात–अन्तर्घातको रुपमा हेरेको छैन। जनताले परिर्वतन खोजेका रहेछन्,’ उनले भने, ‘तनहुँ समेतलाई हेरेर हामीले यही बुझेका छौं।’
अब राजनीतिक दलहरु परिर्वतन भएर अघि बढ्नुपर्ने सन्देश पनि निर्वाचन परिणामले दिएको श्रेष्ठले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।