काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल पानीका कारण रद्द गरिएको छ। बिहान ९ बजेदेखि हुनुपर्ने खेल निरन्तर पानी परेका कारण दिउँसो साढे १२ बजेसम्म हुन नसकेपछि रद्द गरिएको हो।
नेपालको मुलपानी क्रिकेट मैदानमा हुने भनिएको खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन्। समूह ए मा रहेको नेपालले यसअघि दुई खेल जितेको छ। एक खेल बराबरी भएपछि पाँच अंकसहित नेपाल सेमिफाइनलमा पुगेको छ।
३ खेलमध्ये २ खेलमा जित निकाले र १ मा पराजय भोगेको ओमान चार अंकसहित दोस्रो स्थानमा छ भने साउदी अरेबिया १ जित, १ हार र १ बराबरी गरी ३ अंकसहित तेस्रो नम्बरमा छ।
यही समूहमा रहेका मलेसियाले दुई र कतारले कुनै अंक जोड्न सकेका छैनन्। समूह ‘ए’ का शीर्ष २ र समूह ‘बी’ का शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। कप जित्ने टिमले एसिया कप २०२३ खेल्नेछ। जहाँ भारत र पाकिस्तानलगायतका टिमहरुसँग प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।