फाइल तस्बिर काठमाडौं– प्रतिनिधि सभाको उपनिर्वाचन भएका ३ वटा क्षेत्र बारा २, चितवन ३ र तनहुँ १ मा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन भइसकेका छन्। तनहुँ १ मा राति १२:१५ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको छ।
चितवन २ मा मतगणनाबारे निर्णय गर्न बोलाइएको बैठक विवादका कारण स्थगित भएको छ। बारा २ मा भने सोमबार बिहान ६ बजेतिर सर्वदलीय बैठक बस्ने र उक्त बैठकपछि मात्रै मतगणना सुरु हुने बताइएको छ।
चितवन २ मा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु संकलन गरिसकेर सर्वदीय बैठक बसेको थियो। बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रमुख जिल्ला अधिकारी पनि बैठकमा उपस्थित हुनुपर्ने माग राखेका थिए।
रास्वपा बाहेक नेपाली कांग्रेस, नेकपा एमाले तथा अरु उम्मेदवार र दलहरुले सर्वदलीय वैठकमा प्रमुख जिल्ला अधिकार उपस्थित हुनुपर्ने माग राखेका थिए। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज आफू उपस्थित हुने नसक्ने जानकारी गराएकाले बैठक स्थगित भएको रास्वपाका सभापति एवम् चितवन २ का उम्मेदवार रवि लामिछानेले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय हुने जानकारी दिएको छ। चितवन २ मा रास्वपाबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा छन्।
तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णिम वाग्ले प्रतिस्पर्धी छन्। बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेकपा एमालेका पुरूषोत्तम पौडेल, जनमत पार्टीका पुरूषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।