काठमाडौं– एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिंगापुरलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज (आइतबार) भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिंगापुरलाई २०१ रनको फराकिलो अन्तरले पराजित गर्यो। यस जितसँगै युएईले ४ अङ्क जोडेको छ।
युएईले दिएको ४७२ रनको विजयी लक्ष्य पच्छाएको सिंगापुर निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७० रनमा समेटियो। सिंगापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिए। त्यस्तै, थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाए। युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदैँ ४७१ रनको योगफल तयार बनाएको थियो। युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक १७४ रनको योगदान दिए। १३३ बल खेलेका उनले १७ चौका र ७ छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन्।
त्यसैगरी, युएईका कप्तान मोहम्मद वासिमले १६० रन जोडे। उनले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा १६० रन बनाएका हुन्। आयन अफजल खानले ७४ रन बनाए। उनले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाए।
यस्तै, युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए। आसिफ खान ११ तथा रोहन मुस्तफा ३ रनमा आउट भए। बलिङतर्फ सिंगापुरका आदित्य भर्गवले ४ विकेट लिए भने रमेश कलिमुथुले ३ विकेट हात पारे। त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रीत सिंहले एक विकेट लिए।
उक्त प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा सोमबार नेपालले साउदी अरेबियासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।