काठमाडौं– आइतबार बिहान ७ बजेबाट बारा २, चितवन २ र तनुहँ १ मा प्रतिनिधि सभा सदस्य छनोटका लागि मतदान सुरु भएको छ। तर यो प्रस्तिपर्धामा रहेका मुख्य प्रतिस्पर्धिहरुले आफैंलाई भने मतदान गर्न नपाउने भएका छन्।
तनहुँ १ : वाग्ले र खनाल उम्मेदवार मात्र, भट्टराई आफैंलाई मत हाल्ने उम्मेदवार
यो निर्वाचन क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धामा छन्। ३ प्रतिस्पर्धी मध्ये भट्टराई मात्र यो क्षेत्रको मतदाता रहेका छन्।
भट्टराईले व्यास नगरपालिका ११ बेल्टारी स्थित तनहुँ आधारभूत प्रावी मतदान केन्द्रबाट मतदान गर्ने छन्। वाग्ले र खनाल भने यहाँका मतदाता नरहेकाले मतदान गर्न पाउने छैनन्।
चितवन २ : जितनारायाणले मतदान गरे रवि र रामप्रसादले मतदातालाई धन्यवाद दिए
सर्वाधिक चर्चाको निर्वाचन क्षेत्र हो चितवन २। यहाँ रास्वपाका सभापति पुन: उपनिर्वाचनबाट अनुमोदन हुने तयारीमा छन्। तर उनका अन्य प्रतिस्पर्धिले पनि उनालई राम्रै चुनौती दिइरहेका छन्। उनीसहित कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धाामा छन्।
जितनारायणले चतुर्मुखी उच्च मावि शक्तिखोर केन्द्रबाट मतदान गरिसके भने रास्वपाका उम्मेदवार तथा सभापति रवि लामिछाने र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न पाउने छैनन्।
रामप्रसाद चितवन ३ का मतदाता हुन् भने रवि काठमाडौं क्षेत्र नम्बर ३ का मतदाता हुन्। रामप्रसाद र रवि मतदान स्थलमा पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्।
बारा २ : उपेन्द्र, रमेश र पुरुषोत्तम उम्मेदवार मात्र, शिव मात्र मतदातासहितका उम्मेदवार
बारा २ को चुनावी प्रस्तिपर्धामा उपेन्द्र भर्जेस सिके राउत भन्ने भाष्य बनाइएको छ। तर यहाँका मुख्य प्रतिस्पर्धिहरु आफैंमा अब्बल रहेका जानकार बताउँछन्।
यहाँ जसपा अध्यक्ष स्वंय उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशुवाहा, एमालेबाट पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
यी ४ मुख्य प्रतिस्पर्धि मध्ये शिवचन्द्र मात्र यो क्षेत्रमा मतदाता रहेका छन्। उनले महागढीमाइ नगरपालिका २ बरैयाटोल स्थित स्वास्थ्य चौकीको मतदान केन्द्रबाट मतदान गरिसकेका छन्।
यहि जिल्लाका मतदाता रहेका पौडेल भने बारा १ का मतदाता हुन्। यस्तै, खरेल काठमाडौं १ का मतदाता हुन् भने यादवको मतदाता नामावली मोरङमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।