काठमाडौं– नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्याएका हुन्।
विश्व कीर्तिमान बनाउने क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिए। ओडीआईमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा थियो। अफगानिस्तानका स्पिनर खानले २०१८ मा उक्त रेकर्ड बनाएका थिए। उनले ४४ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए।
खानपछि अस्ट्रेलियाका मिचेल स्टार्क छन्। उनले ५२ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए। यसैगरी पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा १०० विकेट पूरा गरेका छन्। अस्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा एक सय विकेट पूरा गरेका छन्।
ओडीआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने लामिछाने विश्वकै दोस्रो खेलाडी हुन्। सन्दीपले २२ खेलमा ओडीआईमा ५० विकेट पूरा गरेका थिए। श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम राखेका छन्।
लामिछानेले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।