काठमाडौं– एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज (शुक्रबार) २ वटा खेल हुँदैछन्।
मुलपानी मैदान र त्रिवी क्रिकेट मैदानमा खेलहरु आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ। मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का युएई र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र ओमान प्रतिस्पर्धा गर्दै छन्।
दुवै खेलमा प्रतिस्पर्धामा उत्रिने टोली दोस्रो जितको खोजीमा हुनेछन्। समूह ‘बी’मा रहेको युएईले पहिलो खेलमा कुवेतलाई हराएको थियो भने हङकङले सिंगापुरलाई पराजित गरेको थियो। यी दुवै टोली दोस्रो जितका लागि मैदानमा उत्रदै छन्।
त्यस्तै, नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो। ओमानले पनि पहिलो खेलमा कतारलाई हराएको थियो।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्। समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।