काठमाडौं– भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई सायद सबैले सम्झने गर्दछन्। सक्रिय क्रिकेटबाट सन्यास लिएका तेन्दुलरका लागि आइतबार एक अविस्मणीय क्षण बन्यो। आफू सक्रिय क्रिकेटबाट अवकाशमा गएपनि उनको उत्तराधिकारीले मैदान सम्हालेका छन्। चर्चित क्रिकेट लिग आईपीएलमा उनका छोरा अर्जुन तेन्दुलकरको डेब्यू गरे।
आइतबारको खेलमा धेरै रेकर्ड बनेपछि चर्चामा भने सचिनका छोरा रहे। उक्त खेलमा अर्जुनसँगै अफगानिस्तानका १८ वर्षीय बायाँ हातका स्पिनर नूर अहमदको पनि डेब्यू भएको थियो। उनले राजस्थान रोयल्सका कप्तान सञ्जु सैमसनलाई अर्धशतकको नजिकै पुग्दा आउट पनि गरे।
तर, त्यो भन्दा धेरै चर्चा अर्जुन तेन्दुलरको भएको छ। उनी ट्विटरमा टेन्ड्रिङमा छन्। अर्जुन लामो समयदेखि आईपीएलमा डेब्यूको पर्खाइमा थिए।
गत वर्ष नै जब मुम्बईले लगातार खेल हारिरहेको थियो, यो आस गरिएको थियो कि अर्जुनलाई डेब्यू गराइने छ। तर, उनले कुनै अवसर पाएनन्। एक वर्ष कुरेपछि यो सिजनमा उनलाई डेब्यु गरिएको थियो। अन्तत: २०२३ अप्रिल १६ मा आफ्नो डेब्यू गर्ने अवसर पाए। योसँगै सचिन तेन्दुलकर र अर्जुन तेन्दुलकर आईपीएल खेल्ने बाबु–छोराको पहिलो जोडी बनेका छन्।
पहिलो खेलमा कस्तो रह्यो प्रर्दशन?
मुम्बई इन्डियन्सले पहिले बलिङ गरेको थियो। आइतबार नियमित कप्तानको स्थानमा सूर्यकुमार यादवलाई जिम्मेवारी दिइएको थियो। कप्तान यादवले अर्जुन तेन्दुलकरलाई बल दिए।

उनले पहिलो बलमा कुनै रन दिएनन् भने दोस्रो बलमा दुई रन दिए। तेस्रो बलमा एक रन दिए। चौथो बलमा ब्यास्टम्यानको प्याडमा लागेपछि उनले आउटको अपिल गरे। तर, रेफ्रिले उनको एलबीडब्ल्यूको मागलाई स्वीकार गरेनन्। रिप्लेमा हेर्दा उक्त बल स्टम्पको केही माथि गएको देखिएको थियो। पहिलो ओभरमा अर्जुनले पाँच रन दिँदै राम्रो सुरुआत गरे।
आफ्नो डेब्यू खेलमा उनले केवल २ ओभरमात्र बलिङ गर्ने अवसर पाए। दोस्रो ओभरमा उनी केही महंगो सावित भएका थिए। उनले पहिलो खेलमा कुनै विकेट पाएनन्। १२ बलमा उनले १७ रन दिए।
सचिनको स्पेशल मोमेन्ट
यो खेल अर्जुनका लागि मात्र नभएर उनका पिता सचिन र पुरै परिवारका लागि एक विशेष थियो।
लामो समय सचिनसँग सँगै खेलेका हरभजन सिंहले टेलिभिजनमा कमेन्ट्री गर्दै खुशी व्यक्त गरेका थिए। ‘हर बालकले एक सपना लिएर हिँडेको हुन्छ। यो बन्छु वा यो गर्दछु भन्दछ। यो आफ्नो पिता र परिवारका लागि पनि स्पेशल अवसर हो’, उनले भने। उनी ब्रेकको समयमा यो खुशी साट्न तेन्दुलकरसामु पनि पुगेका थिए।
‘मलाई यस्तो लाग्यो कि म आफैं क्रिकेट खेल्न गइरहेको छु। ममाथि यति दबाब थियो कि म भित्र गए बाहिर पनि बस्न सकिनँ। किनकी मलाई स्क्रिनमा देखाइयो भने मेरो छोरामाथि प्रेसर महसुस हुनेछ’, सचिनले भनेका छन्। उनकी छोरी भने स्टेडियममा बसेर आफ्नो भाइको हौसला बढाइरहेकी थिइन्। उनलाई उत्साही रुपमा स्क्रिनमा देखाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।