काठमाडौं– इन्डियन प्रमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले पहिलो जित हासिल गरेको छ। सोमबार राति भएको खेलमा चेन्नईले लगनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गर्यो।
घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। २१८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनाउन सक्यो।
लखनउलाई २०५ रनमा रोक्नका लागि चेन्नईका मोईन अलीले उत्कृष्ट बलिङ गरे। ४ ओभर बलिङ गरेका अलीले मात्र २६ रन खर्च गरेर ४ विकेट लिए। यस्तै, तुसार देशपाण्डेले २ तथा मिचेल स्यान्टेनरले १ विकेट लिए।
लखनउका लागि ओपनर कायल मेयर्सले २२ बलमा ५३ रन बनाए। लगातार दोस्रो अर्धशतक बनाउने क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे।
निकोलस पुरनले १८ बलमा ३२ रन बनाए भने मार्कुस स्टोईनसले १८ बलमा २१ रन बनाए। आयुष बदोनीले १८ बलमा २३ रन बनाए।
कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रन बनाए। अर्धशतकीय इनिङ खेल्ने क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे।
अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए। पहिलो विकेटका लागि गायकवाड र कन्वेबीच ११० रनको साझेदारी भएको थियो।
अंबाती रायडू १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए। मोईन अलीले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए।
लखनउका लागि मार्क वुड र रवि विस्नोइले समान ३/३ विकेट लिए। आवेश खानले १ विकेट आफ्नो नाम गरे।
दोस्रो खेलमा पहिलो जित निकालेको चेन्नई २ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा छ। दोस्रो खेलमा पहिलो हार बेहोरेको लखनउ २ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।