काठमाडौं– काठमाडौँको कोटेश्वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकलाई गएराति (शुक्रबार) प्रहरीले नियन्त्रणमा लिएको छ।
बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय ईन्द्र बहादुर बस्नेत र बागमति प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामालाई लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले गएराति १० बजेदेखि १२ बजेसम्म २१ ओटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ४ जना चालकहरू फेला पारेको थियो।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषधसमेत सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडि बढाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।