काठमाडौं– गुल्मीको धुर्कोट गाउँपालिकामा महिलालाई लगाउने गर्भनिरोधक तीन महिने संगीनी सुई बोकालाई लगाएको पाइएको छ। गाउँपालिकाले उक्त सुई बोकालाई लगाइएको पाइएकाले यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।
सोमबार गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँ र वडा नं. ७ वाग्लाका केही पशुहरू (बोके पाठा) मा प्राइभेट सेक्टरमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूबाट नियम विपरीत महिलामा प्रयोग गर्ने हर्मोन संगीनी सुई पशुमा प्रयोग गरेको उल्लेख गरेको छ।
उक्त सुईले हर्मोनको दीर्घकालीन असर मानव स्वास्थ्यमा पर्न जाने भएकोले उक्त कार्य यथासिघ्र बन्द गर्न अनुरोध गरेको छ। साथै आगामी दिनमा सो कार्य गर्ने गराउने गरेको पाइएमा दुवैलाई कानुन बमोजिम दण्ड सजाय गरिने गाउँपालिकाले चेतावनी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।