काठमाडौं– अर्थमन्त्रालका राजस्व सचिव डा रामप्रसाद घिमिरेले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताएका छन्।
कोषको ३३ औं वार्षिकोत्सव कार्यक्रममा घिमिरेले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन थालेको बताए। उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोष प्रति आकर्षण बड्दो क्रममा रहेको धारणा पनि त्यस अवसरमा राखेका छन्।
कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ कार्य गरिरहेको बताए।
थापाले भोलिको दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जन गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएका छन्। उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत, साधन अनुसार कार्यरत कर्मचारीको सेवा सुविधा परिमार्जन हुँदै आएको पनि बताएका छन्।
त्यसैगरी शुभकामना सन्देश दिँदै कोषका कार्यकारी निर्देशक रमण नेपालले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैँया रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको बताए।
कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाउँदै आएको उनको भनाइ छ।
कोषमा सहभागी हुने सम्भावना भएका संघ संस्थाहरुलाई आवद्ध गर्न र ती संस्थाहरुको दीर्घकालीन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्धेश्यले काठमाडौं उपत्यका बाहिर बिराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय संचालन गरिसकिएको जानकारी उनले दिए।
कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता देखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताउँदै नेपालले भने, ‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सिग्याँस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीहरुलाई सापटी तथा अन्तिम भुक्तानी एनसिएचएलको कनेक्ट आइपिएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ। निजी क्षेत्र तथा अन्य संगठीत संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाई सकिएको छ।’
कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव नारायण गुरागाईले कोषले गर्नुपर्ने बिषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए। वार्षिकोत्सव कार्यक्रममा २० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ठ कर्मचारीलाई सम्मान पत्र प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।