काठमाडौं– अर्थिक वर्षको पहिलो सात महिनाको आर्थिक स्थिति प्रतिवेदन अनुसार बैंकहरुसँग विदेशी मुद्रा सञ्चितिमा निरन्तर वृद्धि भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/०८० को ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार माघ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ। त्यसअघि उक्त सञ्चिति पुस मसान्तसम्म १३ खर्ब ३७ अर्ब २९ करोड रहेको थियो। माघ महिनामा मात्र ४६ अर्ब माथीको विदेशी सञ्चिति बढेको हो।
२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म आइपुग्दा १३ दशमलव ८ प्रतिशतले बढेर उक्त स्थितिमा आइपुगेको हो।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १० अर्ब ५० करोड पुगेको हो। माघ मसान्तसम्मको आयातलाई आधार मानेर हेर्दा उक्त सञ्चितिले १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।