काठमाडौं– विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचारमा प्रमुख दोषी ठहर भएका पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको छ।
बिहीबार भएको फैसलाले उनलाई कैदसँगै २ करोड रुपैयाँ बिगो र ४३ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ। विशेष अदालतले फागुन १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले यस्तो सजाय ठहर गरेको हो। समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहितलाई मुद्दा दायर गरेको थियो।
विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो। न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका थिए। न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो।
अख्तियारले अनुसन्धान गरी २०७५ माघ २१ गते ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।