काठमाडौं– सत्तारुढ नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाए।
नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल सञ्चालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्ता वीरंगानाको योगदानको अवमूल्यन गर्ने काम भएको जिकीरसमेत गरे।
उनले नेपाली कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद् सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणीसमेत गरे।
कार्यक्रममा कांग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसदमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताए। उनले राजनीतिक रुपमा हिजो देखिएका समस्याहरुलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको दाबी गरे।
नेता लेखकले द्वारिकादेवीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रुपमा पनि चित्रण गरे। उनले आफ्नो पार्टीले द्वारिकादेवीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दाबीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।