काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफ्नो कुरा भइरहेको बताएका छन्। स्थायी कमिटी बैठकमा सहभागी भएर शनिबार पार्टी कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा उनले समस्या समाधान हुने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने अन्तिम निर्णय लिने भन्दै गत बिहीबार केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठक बसेको थियो। सो बैठकले त्यस किसिमको निर्णय नलिई दुई दिन पर्खिने भनेकाे थियो।
बिहीबारको बैठक सुरु हुनुअघि र सुरु भइसकेपछि सो पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुरा गरेका थिए।
नेताहरुसँग कुरा भएको र उनीहरुले नै पर्खन भनेपछि दुई दिन पर्खिने निर्णय लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताएका थिए।
दुई दिनभित्र कुनै सहमति नभए पुनः बैठक बसेर निर्णय लिने ढकालको भनाइ थियो। यद्यपि, शुक्रबार संयन्त्रको बैठक बसेन नै, शनिबार पनि बसेको छैन।
नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनले सांसद, मन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए। गत आइतबार नागरिकता पुनःप्राप्ति गरेका थिए। त्यसै दिन पार्टी सभापति भएका थिए। त्यसपछि आफूलाई पुनः गृहमन्त्री बनाउन उनले पहल गर्दै आएका छन्। तर प्रधानमन्त्री प्रचण्ड तयार छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।