काठमाडौं– बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने र राष्ट्रिय टिमको टोलीमा राख्ने निर्णय लिएको क्रिकेट संघ, नेपाल (क्यान)विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ। शनिबार विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनकारीले ‘क्यान कि क्याननट?’, ‘बलात्कार आरोपितलाई साथ दिने क्यानको कत्रो हिम्मत?’, ‘पीडितलाई लात, बलात्कार आरोपितलाई साथ?’, ‘नाबालिगमाथि अत्याचारको भारी, अभियुक्तले किन खेल्छस् देशका लागि?’, ‘उता फिक्सिङ गराउने, यता आरोपितलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’, ‘चतुर चन्दको चतुर्याइँ, बलात्कारीको हर्ष बढाइँ’, ‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’, ‘क्यानका लठुवाहरुको बेइमानी, बलात्कार अभियुक्तको जमानी?’, ‘अभियुक्त रमाउँदै, पीडित डराउँदै’ लगायतका नारा लेखिएको पम्प्लेटसहित प्रदर्शन गरेका थिए।
गत भदौ ५ गते एक नाबालिगलाई बलात्कार गरेको आरोप उनीमाथि छ। भदौ २१ मा उनीविरुद्ध प्रहरी वृत्त गौशलामा जाहेरी परेको थियो। क्यानले भदौ २३ गते लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको थियो। उनी लामो समय विदेशमै रहेर असोज २० गते मात्रै नेपाल फर्किएका थिए।
काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपछि उनी केन्द्रीय कारागार चलान भएका थिए।
यद्यपि, जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए। पुस २८ गते उच्च अदालत पाटनले उनलाई विभिन्न सर्तसहित धरौटीमा छाड्न आदेश दिएको थियो। उनी पुस २९ मै २० लाख धरौटी बुझाएर रिहा भएका थिए। लगत्तै उनमाथिको निलम्बन फुकुवा हुने चर्चा सुरु भएको थियो।
गत माघ १७ गते पोखरामा बसेको क्यानको बोर्ड बैठकले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको थियो। माघ १९ मै उनलाई राष्ट्रिय टिमको टोलीमा समावेश गरिएको थियो। बन्द प्रशिक्षणमा रहेका २८ जनामध्ये, जहाँ लामिछाने परेका थिएनन्, तर दोस्रो चरणको प्रशिक्षणमा परेका २० जनामा उनी अटाएका थिए।
उनले शुक्रबार मात्रै त्रिवि क्रिकेट मैदान पुगेर राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी भएका थिए। नेपालले यही फागुन २ देखि ९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिदेशीय सिरिज खेल्दैछ। बलात्कार आरोपितले राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै क्यानविरुद्ध केही दिनयता सामाजिक सञ्जालमा तीव्र आक्रोश व्यक्त हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।