काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ। बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले माघ २२ गते हुने राष्ट्रिय सभा उपाध्यक्षका मनोनयनमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले बिहीबार बिहान बसेको संसदीय दलको बैठकले दुईवटा निर्णय गरेको जानकारी दिए। जस अन्तर्गत आगामी २२ गते हुने राष्ट्रिय सभा उपाध्यक्षको मनोनयनमा उम्मेदवारी दिनुका साथै यस बारेमा अन्य दलहरुसँग परामर्श गर्ने निर्णय गरेको बताए।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी २३ गते निर्वाचन हुँदैछ। त्यसैगरी माघ २६ गते संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से भवनमा बस्ने निर्णय भएको पनि उनले जानकारी दिए।
उनले केन्द्रीय कार्यसमितिको बैठक भने संसद्मा काम भएका कारण केही समय सार्नु परेको बताउँदै राष्ट्रपतिको निर्वाचनका लागि अन्य दलहरुसँग पनि छलफल भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।