काठमाडौं– सत्तारुढ प्रमुख दल नेकपा माओवादी केन्द्रले बुधबारका लागि बोलाएको पदाधिकारी र स्थायी समिति बैठक स्थगित गरेको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तता र बैठकका लागि आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको हो।
अब उक्त बैठक बिहीबार (भोलि) बस्ने भएको छ। बैठकका लागि अजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेकाले बिहीबारका लागि बैठक सारिएको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुन: गृह मन्त्रालयकै दाबी गरेपछि माओवादीको पदाधिकारी बैठक सोमबार र मंगलबार लगातार बसेको थियो।
यस्तै प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका विषयमा महासचिव र उपाध्यक्षसँग छलफल गर्ने भएका छन्। नागरिकता प्रकरणका कारण गृहमन्त्री पदबाट हटेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिएपछि प्रचण्डलाई अप्ठ्यारो परेको छ।
उनले महासचिव देव गुरुङ र उपाध्यक्ष एवं सरकारका उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग गृह मन्त्रालयका विषयमा छलफल गर्ने भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।