काठमाडौं– जनमत पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्री अब्दुल खानले अन्ततः बुधबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
मन्त्रिपरिषद् विस्तारमा खानलाई खानेपानीमन्त्री बनाएपछि जनमत पार्टीले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। त्यसपछि खानले खानेपानी मन्त्रालयले जिम्मेवारी सम्हाल्न मानेका थिएनन्। जनमत पार्टीले सहमतिअनुसार आफूहरुलाई उद्योग तथा आपूर्ति मन्त्रालय दिनुपर्ने अडान लिएको थियो।
तर, सहमति अनुसारको मन्त्रालय नपाएपछि गत शनिबार जनमत पार्टीका अध्यक्ष डा सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेरै त्यसबारेमा छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले राउतलाई दुई–तीन दिन कुर्न आश्वासन दिएका थिए। यद्यपि, जनमत पार्टीले उद्योग मन्त्रालय पाएन। उद्योगमन्त्रीमा एमालेबाट दामोदर भण्डारी नियुक्त भइसकेका छन्।
बुधबारदेखि खानेपानीमन्त्रीको जिम्मेवारी सम्हालेका खानले प्रधानमन्त्री प्रचण्डसँगैै ११ पुषमै विनाविभागीय मन्त्रीको सपथ लिएका थिए। बुधबार खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका खानले प्रधानमन्त्री प्रचण्डले केही दिन कुर्न भनेर दिएको आश्वासनअनुसार बुधबारदेखि निर्धारित जिम्मेवारीमा आएको प्रतिक्रिया दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।