काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आइतबार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै रहेका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेकोमा अहिले भने विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन हुन नदिने कुचेष्टा भइरहेको बताए।
उनले अहिले पनि सामन्ती, एकात्मक र हस्तक्षेपविरुद्धको लडाइँ जारी रहेको बताए। प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय संस्कृतिको जगर्ना गर्ने र ऐतिहासिक संस्कारलाई विकसित गर्ने दायित्व सबैको काँधमा रहेको उल्लेख गरे।
उत्पीडित जातिहरुलाई भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार दिलाउन आफूहरुले ठूलो लडाइँ गरेको उनको भनाइ थियो।
नेपालमा परिकल्पना गरिएको संघीयताको सही तरिकाबाट अघि बढ्न आवश्यक रहेको उनले बताए। यस्तै माघ १५ गतेदेखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण हुने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।