काठमाडौं– जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा जन्म दर्ता पेश गर्न आदेश गरेको छ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले किशोरीको उमेर विवाद इजलासमा लामिछानेका कानुन व्यवसायीले उठाएको भन्दै त्यसको निरुपण गर्ने कागज अस्पतालबाट झिकाउन आदेश गरेको हो।
त्यस्तै जिल्ला अदालतले लामिछानेका सहकर्मी खेलाडी देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन आदेश पनि गरेको छ। मंगलबारबाटै जिल्ला अदालतले जाहेरवाला, सरकारी साक्षी र लामिछानेका साक्षीहरुको बयान लिने र प्रमाण बुझ्ने काम थालेको छ।
लामिछाने जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन्। यी सबै प्रमाण बुझेपछि अदालतले अन्तिम फैसला सुनाउने छ। सफाइ दिएमा लामिछाने थुनामुक्त हुनेछन्। दोषी ठहर भए थप समय जेलमा बिताउनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।